काठमाडौँ । भदौ १० गतेको भोटेकोशी बाढीबाट क्षतिग्रस्त नुवाकोट, रसुवा र धादिङका सडक पुनः सञ्चालनमा ल्याउने काम भइरहेको छ।
सडक विभागका अनुसार नुवाकोटको गेर्खुटारसम्म सडक सम्पर्क पुनःस्थापित भइसकेको छ। बेत्रावती–उत्तरगया मावि खण्डमा करिब ५०० मिटर सडक बगेकाले दुवैतर्फबाट मेसिन परिचालन गरी काम भइरहेको छ।
रसुवा–नुवाकोट जोड्ने फलाखु खोलामा ७५ मिटर लामो बेलिब्रिज राख्न फाउन्डेसन तयार भइसकेको छ। उक्त पुल बनेपछि धुन्चेसम्म सडक सम्पर्क जोडिनेछ। त्यसपछि स्याफ्रुबेसी, धुन्चे हुँदै रसुवागढीसम्म सडक खुलाउने तयारी छ।
चीनले दुई र भारतले एक बेलिब्रिज सहयोग गरेका छन्। दशैंभित्र गल्छीदेखि रसुवागढीसम्म सडक खुलाउने लक्ष्य राखिएको छ। सडक तथा पुल पुनर्निर्माणमा करिब ५० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान छ।