हुम्ला । अविरल वर्षापछि आएको बाढी र पहिरोले हुम्लाको सदरमुकाम सिमकोटदेखि चीनसँगको हिल्सा नाका जोड्ने सडक अवरुद्ध भएको छ।
सडक ठाउँ–ठाउँमा क्षतविक्षत बनेपछि सिमकोटदेखि हिल्सा नाकासम्म चल्ने सवारीसाधनको आवागमन ठप्प भएको नाम्खा गाउँपालिका–३ का स्थानीय कुन्साङ हिसे लामाले जानकारी दिएका छन्।
वर्षासँगै आएको बाढीले केर्मी गाउँनजिकैको कल्भर्ट समेत बगाएको स्थानीयले बताएका छन्। सडक अवरुद्ध हुँदा सीमा नाकासम्मको आवागमन प्रभावित भएको छ।
वर्षाका कारण गाउँका खेतीयोग्य जमिनमा समेत ठूलो क्षति पुगेको स्थानीय छपाक दोर्जी लामाले बताए। उनका अनुसार अन्नबाली बगाउनुका साथै ठाउँ–ठाउँमा पहिरो गएपछि गाउँ जोखिममा परेको छ।
यस्तै, गाउँनजिकैको तातोपानी खोलामा निर्माण गरिएका संरचनासमेत बाढीले बगाएको स्थानीय पेमा लामाले बताएका छन्। लगातारको वर्षाले सडक, कृषि क्षेत्र र स्थानीय पूर्वाधारमा क्षति पुर्याएपछि जनजीवन प्रभावित भएको छ।