काठमाडौं । अविरल वर्षापछि आएको पहिरोका कारण केही दिनदेखि पूर्णरूपमा अवरुद्ध कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
असोज ८ देखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि काठमाडौं–हेटौँडा जोड्ने छोटो मार्ग कान्ति लोकपथमा यातायात ठप्प भएको थियो। वर्षाका कारण ठाउँ–ठाउँमा ठूला पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो।
सडक डिभिजन कार्यालयले पहिरो पन्छाउन प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरेको थियो। लामो प्रयासपछि पहिरो हटाएर सडकलाई तत्कालका लागि यातायात सञ्चालनयोग्य बनाइएको कार्यालयले जनाएको छ।
हाल सडकमा एकतर्फी सवारी आवागमन खुला गरिए पनि विभिन्न स्थान अझै जोखिमपूर्ण अवस्थामा छन्। निरन्तर वर्षाका कारण पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानी अपनाएर यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ।
सडकलाई पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा ल्याउन थप मर्मत तथा सुधारको काम भइरहेको बताइएको छ।