काठमाडौं । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त मुख्य राजमार्गका पुलहरू दसैँअघि नै मर्मत तथा पुनर्निर्माण गरी सञ्चालनमा ल्याउने सडक विभागले जनाएको छ।
सडक विभागको पुल महाशाखाले चाडपर्वका बेला यात्रुको आवागमन सहज बनाउन पुल पुनर्स्थापनाको काम तीव्र बनाएको हो। बाढीबाट क्षतिग्रस्त करिब १० पुलमध्ये रणनीतिक तथा मुख्य राजमार्गका पुललाई प्राथमिकतामा राखिएको महाशाखाले जनाएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत पोखरेबगर, माल्ढुङ्गा र डेढगाउँका पुलमा क्षति पुगेपछि प्राविधिक टोलीले बेलीब्रिज राख्ने वा मर्मत गर्नेबारे अध्ययन गरिरहेको छ।
यस्तै, रसुवागढी सडकखण्डको बेत्रावतीमा बेलीब्रिजको जग निर्माण करिब पूरा भएको विभागले जनाएको छ। आवश्यक सामग्री ढुवानीका लागि बाटो खुलेलगत्तै दसैँअघि बेलीब्रिज जडान गर्ने तयारी छ।
तर बेत्रावतीभन्दा माथि सडक नै बगेकाले रसुवागढी खण्डको यातायात तथा पुल पुनर्स्थापनामा भने थप समय लाग्ने विभागले जनाएको छ।