कञ्चनपुर । महाकाली नदीमा ठूलो बाढी नआएको बेला दोधारा–चाँदनी झोलुङ्गे पुल एक्कासि चुँडिएको छ। बुधबार बिहान मौसम सफा थियो भने असोज ९ देखि भइरहेको निरन्तर वर्षा सोमबार नै रोकिएको थियो। डेढ लाख क्यूसेक नाघेको महाकालीको बहावसमेत घटिसकेको थियो।
तर, दोधारा–चाँदनी नगरपालिका–४ स्थित पुलका करिब चार–पाँच मिटर फलामे फ्ल्याक माथितिर उठेपछि आवतजावत बन्द गरिएको थियो। केही समयमै त्यही भागबाट पुल चुँडिएर लठ्ठासहित महाकाली नदीमा लत्रिएको हो। समयमै आवतजावत रोकिएकाले मानवीय क्षति भने हुन पाएन।
पुलका पिल्लरसमेत क्षतिग्रस्त भएका छन्। असोज ९ देखि ११ गतेसम्मको बाढीका कारण पिल्लर कमजोर हुँदै गएपछि पुल चुँडिएको प्रारम्भिक अनुमान छ। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार प्राविधिक टोलीले क्षतिको अध्ययन गरिरहेको छ।
२०६१ सालमा बनेको १।४५ किलोमिटर लामो यो पुल महाकालीपारिको दोधारा–चाँदनीलाई अन्य भूभागसँग जोड्ने मुख्य माध्यम हो। पुल चुँडिएपछि यहाँको आवतजावत ठप्प भएको छ। पुनर्निर्माणमा केही समय लाग्ने देखिएको छ।