काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ५३ वटा झोलुङ्गे पुलमा क्षति पुर्याएको एक महिना बित्दा पनि ३३ पुलको पुनर्निर्माण अन्योलमा छ। बाढीले पूर्ण रूपमा बगाएका पुल पुनर्निर्माणमा आवश्यक स्टिल वायर रोप (लठ्ठा) नेपालमा मौज्दात नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन।
स्थानीय पूर्वाधार विकास विभागका अनुसार बाढीबाट क्षतिग्रस्त ५३ पुलमध्ये ३३ वटा पूर्ण रूपमा बगेका छन् भने २० वटा सामान्य मर्मतपछि सञ्चालन गर्न सकिने अवस्थामा छन्। तीमध्ये एउटा पुलको मर्मत सम्पन्न भएको छ भने १२ वटा पुलको काम अन्तिम चरणमा पुगेको छ।
यसबीच विच्छेद भएका ग्रामीण बस्ती जोड्न नुवाकोटको इन्द्रेणी चौर, देवीघाट, रसुवाको स्याफ्रुबेँसी र हाकुबेँसीमा चार वटा तुइन सञ्चालनमा ल्याइएको छ।
पूर्ण क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भारतबाट लठ्ठा आयात गर्नुपर्ने र ई–बिडिङमा आएको प्राविधिक समस्याले बोलपत्र प्रक्रिया लम्बिएको विभागले जनाएको छ। बाढी प्रभावित पूर्वाधार पुनर्स्थापनाका लागि विभागले प्रारम्भिक रूपमा १ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरेको छ।