काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्रसिंह महताले कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्।
महाकाली नदीमा आएको बाढीका कारण पुलको बीच भागमा रहेको टावर ब्लकमा क्षति पुगेको उल्लेख गर्दै सांसद महताले पुलको आवतजावत बन्द हुँदा स्थानीय प्रभावित भएको बताए।
उनले पुल क्षतिग्रस्त भएपछि दोधारा–चाँदनी क्षेत्रका नागरिकलाई आवतजावतमा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
महताले क्षतिको प्राविधिक अध्ययन गरी आवश्यक मर्मत तथा पुनर्निर्माणको काम तत्काल अघि बढाउन माग गरेका छन्। साथै, स्थानीयको दैनिक आवतजावत सहज बनाउन पुललाई सकेसम्म छिटो सञ्चालनमा ल्याउने गरी काम गर्न सरकारसँग आग्रह गरेका छन्।