काठमाडौँ । पछिल्लो बाढीपहिरोका कारण क्षतिग्रस्त म्याग्दीको बेनीदेखि मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक मर्मत सुरु गरिएको छ। बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी र जोमसोमतर्फबाट एकैसाथ मर्मतको काम अघि बढाएको हो।
आयोजना प्रमुख तेजश्वी शर्माका अनुसार जोमसोमदेखि अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गासम्म तथा मालढुङ्गादेखि बेनी हुँदै गलेश्वरसम्मको सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याइएको छ। कालीगण्डकी नदीको कटान, बाढी र पहिरोका कारण २०२ किलोमिटर लामो सडकको ४६ स्थानमा क्षति पुगेको थियो।
रघुगङ्गा–३ तिल्केनीचौरदेखि अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानी खण्डमा सडक विभाग, जलविद्युत् आयोजना र निर्माण व्यवसायीका उपकरण तथा मजदुर परिचालन गरिएको छ। पोखरेबगरमा बाढीले बगाएको सडक पुलको पहुँचमार्ग पनि मर्मत सुरु गरिने आयोजनाले जनाएको छ।
सडक अवरुद्ध हुँदा कोरला नाकासँगको यातायात सम्पर्क टुट्नुका साथै सयौँ कन्टेनर रोकिएका छन्। मुस्ताङको स्याउ, आलु तथा भेडाच्याङ्ग्रा बजार लैजानसमेत समस्या भएको छ।