काठमाडौं । दोधारा–चाँदनी र भीमदत्तनगर जोड्ने ऐतिहासिक झोलुङ्गे पुलको क्षति अध्ययन गर्न काठमाडौंको प्राविधिक टोली सुदूरपश्चिम पुगेको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन, ललितपुरका उपमहानिर्देशक कमल अधिकारी नेतृत्वको टोली बिहीबार बेलुका धनगढी पुगेको हो।
टोलीले शुक्रबार कञ्चनपुरको दोधारा–चाँदनी पुगेर बाढीबाट क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गर्नेछ। उपमहानिर्देशक अधिकारीले पुलको अवस्था हेरेर आवश्यक निर्णय गरिने बताए।
गत बुधबार महाकाली नदीमा आएको बाढीले पुलको एक भाग चुँडिएर नदीमा लत्रिएपछि त्यसबाट आवतजावत बन्द गरिएको छ। पुल क्षतिग्रस्त भएकै दिन प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले प्राविधिक अध्ययन प्रक्रिया अघि बढाएका थिए। उनले पुल मर्मतका लागि गृह मन्त्रालयसँग आवश्यक समन्वय गरिदिन आग्रह गर्दै पत्राचारसमेत गरेका छन्।