काठमाडौं। धनकुटाको साँगुरीगढी गाउँपालिका–५ को ध्वजेडाँडा, लुम्फाजुङ र केराबारी–१ पाटीगाउँको थामडाँडाका गरी लगभग ३५ घर परिवारले बर्खाको पानी जम्मा गरी हिउँदमा संकट टार्दै आएका छन्। हिउँदमा पानीको संकट टार्न बर्षातदेखि नै ड्रम, घैंटो र बोतलमा पानी भरेर राख्नु परेको हो।
ध्वजेडाँडा, लुम्फाजुङ र पाटीगाउँको थामडाँडाका बासिन्दाले १० वर्षदेखि खानेपानीको समस्या भोग्दै आएका छन्। पानीको ठूलो मुहान नहुँदा त्यहाँका ३५ घरधुरीलाई खानेपानीको जोहो गर्न बर्खामा आकाशेपानीको भर पर्नु पर्ने बाध्यता रहेको छ।
२०४६ सालबाट सञ्चालनमा आएको कुहिरोबाट पानी संकलन गर्ने परियोजना बन्द भएपछि र नजिकैका पानीका स–साना मुहान सुकेकाले स्थानीयले खानेपानीको सास्ती भोग्दै आएका हुन्। बर्खामा परेको पानी हिउँदलाई जम्मा गरेर नराख्दा पाँच घण्टा हिँडेर पानी लिन जानुपर्ने स्थानीयको बाध्यता रहेको छ।
पानीको अभावको कारण पशुपालन गर्न पनि समस्या हुनुका साथै बालबालिकाको पढाइ पनि प्रभावित बनेको स्थानीयको भनाइ छ। निर्वाचनको समयमा पुग्ने नेताहरूले खानेपानीको समस्या तत्काल पूरा गर्छौं भनेर आश्वासन दिनेगरेको भएपनि चुनाव जितेपछि फर्केर नआउने गरेको स्थानीयको गुनासो छ। जनप्रतिनिधि आएपछि समस्या समाधान होला भन्ने आशा गरे पनि हालसम्म मौखिक रुपमा २०७५ सालयता हरेक महिना जसो कुरा राख्दा पनि कुनै सुनुवाइ नभएको स्थानीयले जानकारी दिएका छन्।
डाँडामा बस्ती भएकाले लिफ्टबाट खानेपानी सञ्चालन गर्नुपर्ने र त्यसका लागि सानोतिनो बजेटले नपुग्ने भएकाले स्थानीय तहको बजेटले संभव नभएको साँगुरीगढी–५ का वडाअध्यक्षले जानकारी दिएका छन्। प्रदेश र संघीय सरकारलाई त्यहाँको समस्याको बारेमा पटकपटक अवगत गराएको भएपनि कसैले चासो नदेखाएको उनले जनाएका छन्।