दोलखा। दोलखाको भीमेश्वरी नगरपालिकाले घरको नक्सा र निर्माणका लागि अनलाइनबाटै अनुमति दिने भएको छ। सेवाग्राहीलाई सहज र छिटोछरितो सेवा प्रवाह गर्न नगरपालिकाले नक्सा र घर निर्माण अनुमति अनलाइनबाटै दिने प्रक्रिया शुरु गरेको हो।
‘घर नक्सा डेमो’ नामक एप्लिकेसनमार्फत अनलाइनबाट भवन निर्माण अनुमति प्रक्रिया शुरु गरिएको नगरपालिकाले जनाएको छ। नगरलाई स्मार्ट सिटी बनाउने लक्ष्यको सुरुवाती पनि यससँगै शरु भएको नगरपालिकाले जनाएको छ।
घर नक्साको कामलाई झन्झटमुक्त बनाएर सहज सेवा दिन यसले सहयोग गर्ने अपेक्षा राखिएको छ। नगरपालिकाका पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सुरेश राउतले नगरमा प्रत्येक वर्ष करिब दुई सय घर निर्माण हुने गरेको जानकारी दिए।
अब जहाँ र जतिबेला पनि अनलाइनमार्फत घर नक्साका लागि दर्ता, अनुमतिका लागि आवेदन, आवश्यक कागजातको सहज भण्डारण र सहज रूपमा फिल्ड अनुगमनमा सहयोग मिल्ने राउतले बताए।