काठमाडौँ। झन्डै चार वर्षको निर्माण पछि, चीनको सबैभन्दा लामो पानीमुनिको सुरुङ राजमार्ग सवारी साधनको लागि खुला भएको छ। सांघाईदेखि ५० किलोमिटर पूर्वमा अवस्थित ताइहु सुरुङ पूर्वी चीनको जियाङ्सु प्रान्तको ताइहु ताल मुनि फैलिएको छ।
यसको लम्बाई १०.७९ किलोमिटर रहेको छ। सुरुङ ९.९ बिलियन युआन अर्थात कसिब १.५६ बिलियन डलरको लागतमा निर्माण गरिएको हो। २०१९ जनवरीमा निर्माण सुरु गरिएको यस पानी मुनिको सुरुङ राजमार्ग ६ लेन रहेको र यसको चौडाई १७.४५ मिटर रहेको छ।
दुईतर्फी सुरुङ निर्माणमा २० लाख घन मिटरभन्दा बढी कंक्रीट प्रयोग गरिएको छ। सुरुङको छत चालकको थकानबाट बच्न डिजाइन गरी रंगीन एलईडी बत्तीहरू पनी लगाइएको छ।
सुझाउ, वुशी र चाङ्झाउको एक्सप्रेस–वेहरू जोड्दै, यो ताइहु तालको छेउका शहरहरूमा ट्राफिक दबाब कम गर्न र याङ्त्जे नदी डेल्टा क्षेत्रका शहरहरूको आर्थिक विकासलाई प्रवर्द्धन गर्न निर्माण गरिएको जनाइएको छ।