उदयपुर। उदयपुरको रौतामाई गाउँपालिकामा यातायात सेवा पुगेपछि किसान सुन्तलाखेतीमा आकर्षित भएका छन्। गाउँपालिका–४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका हुन्।
गाउँमै यातायातको सुविधा पुगेर सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसान सुन्तला खेतीतर्फ आकर्षित भएका हुन्।
पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको स्थानीयको भनाइ छ। बाटो नहुँदा बारीमै खेर जाने सुन्तलाले अहिले मूल्य पाउन थालेपछि एकै परिवारले ५०० वटाभन्दा बढी सुन्तलाको बिरुवा लगाएर व्यवस्थित तरिकाले सुन्तला खेती गरिरहेका छन्।
गाउँमा यातायातको सुविधा पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुर्याउन सकिने भएको हुँदा सुन्तला खेतीमा किसानको आकर्षण बढेको हो । जसबाट उनीहरूले राम्रो आम्दानी पनि गरेका छन् ।
सडक पुगेसँगै यहाँका मानिसको जीवनस्तरमा समेत उल्लेखनीय सुधार भएको देख्न सकिन्छ।