सुनसरी। निर्माण सम्पन्न भएको तीन वर्ष पुग्दा पनि सुनसरीको इनरुवा बसपार्क अझै सञ्चालनमा आएको छैन। इनरुवा नगरपालिकाले विरोधस्वरुप बसपार्क सञ्चालन गर्न नमानेपछि निर्माण पूरा भएर पनि बसपार्क अलपत्र बनेको हो।
संघीय सरकारले विनियोजन गरेको रकम उपलब्ध नगराएको भन्दै इनरुवा नगरपालिकाले विरोध गर्दै बसपार्क सञ्चालन गर्न नमानेको हो।
इनरुवा नगरपालिका–४ मा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालनमा आउन नसकेपछि अहिले बसपार्कमा लागूपदार्थ दुर्व्यसनीको अखडा बन्दै गएको छ। बसपार्कमा इनरुवा, भोक्राहा, हरिनगरका मात्रै नभइ बराहक्षेत्र, इटहरी, धरान, विराटनगर र सप्तरी सम्मको टिकटकरहरुले टिकटक र युटुबरहरु भिडियो बनाउन आउने गरेका छन्।
कालिका कन्स्ट्रक्सनले निर्माण सम्पन्न गरेको नवनिर्मित बसपार्कको २०७५ साल पुस २५ गते तत्कालिन उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उद्घाटन गरेका थिए।
कालिका कन्स्ट्रक्सनले २ वर्षमा निर्माण गर्ने लक्ष्य राखेकोमा निर्धारित समयभन्दा पहिलेनै करीब १० करोड रुपैयाँको लागतमा बसपार्कको निर्माण सम्पन्न गरेको थियो।