काठमाडौं। जर्मनीले १ वर्षभित्रमा विद्युत उत्पादनका लागि प्रयोग हुँदै आएका सबै आणविक ऊर्जा केन्द्रहरू बन्द गरिसक्ने भएको छ। सन् २०२२ भीत्रमा अहिलेसम्म सञ्चालनमा रहेका आणविक ऊर्जा केन्द्रहरू सधैंका लागि बन्द गर्न लागेको हो।
आणविक ऊर्जाको सट्टामा नवीकरणीय ऊर्जा उत्पादनमा लगानी बढाउने उद्देश्यले ६ मध्ये ३ वटा आणविक भट्टी सधैंका लागि बन्द गरेको हो। ब्रोकडोर्फ, ज्रोहन्दे र गुन्द्रेम्मिनजेन सी आणविक ऊर्जा केन्द्रहरू बन्द गरिएको हो। बन्द गरिएका यी आणविक ऊर्जा केन्द्रहरू साढे ३ दशक पुराना रहेको जनाइएको छ।
एङ्गेला मर्केल सरकारको पालामा आणविक ऊर्जाको परिमाणलाई क्रमश कम गर्दै लैजाने योजनाअनुसार जर्मनीले आफ्ना आणविक ऊर्जा केन्द्रहरू बन्द गर्दै गइरहेको बताइएको छ।
जर्मनीको सन् २०२१ सम्मको विद्युत खपतको तथ्यांकअनुसार कूल मागको १२ प्रतिशत विद्युत ६ वटा आणविक ऊर्जा केन्द्रहरूबाट उत्पादन हुँदै आएको थियो। हाल त्यहाँको प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा ४१ प्रतिशत छ।
सन् २०३० सम्ममा वायु र सौर्य ऊर्जा उत्पादन गरी प्रणालीमा नवीकरणीय ऊर्जाको हिस्सा ८० प्रतिशत पुर्याउने जर्मनीको लक्ष्य रहेको छ।