काठमाडौं। नारायणहिटी दरबार सङ्ग्रहालयका निवर्तमान कार्यकारी निर्देशक भेषनारायण दाहालसहित नारायणहिटी रेष्टुरेन्ट निर्माण कार्यमा संलग्नलाई कारबाहीका लागि अख्तियार र प्रहरीमा पत्राचार गरिएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले प्रहरी र अख्तियारमा कारबाहीका लागि पत्र पठाएको हो।
दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालनसम्बन्धी अध्ययन तथा छानविन प्रतिवेदनसहित मन्त्रालयले निवर्तमान कार्यकारी निर्देशक दाहाल र बतास समूहको बि.म्यानेजेन्टका सञ्चालकलाई कारबाहीका लागि पत्र पठाएको मन्त्रालय स्रोतले जनाएको छ।
सार्वजनिक सम्पदाविरुद्धको कसुरमा कारबाही गर्न मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो। उक्त पत्रमा निवर्तमान कार्यकारी निर्देशक दाहालले ‘सार्वजनिक सम्पत्तिको संरक्षण संवद्र्धन गर्न नसकेकाले’कारबाही गर्न भनी उल्लेख गरिएको छ।
दरबार सङ्ग्रहालय परिसरमा क्यान्टिन/क्याफ्टेरिया सञ्चालनमा भ्रष्टाचारजन्य क्रियाकलाप भएकाले आवश्यक कारबाही गर्न अख्तियार दुरुयोग अनुसन्धान आयोगलाई समेत मन्त्रालयले पठाएको पत्रमा उल्लेख गरिएको छ । मन्त्रालयले अख्तियारलाई पठाएको पत्रमा दाहालले सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न नसकेको, बि.म्यानेजमेन्टले गरेको अतिक्रमण रोक्न नसकेको उल्लेख गरिएको छ ।
विवाद आएसँगै सङ्ग्रहालयका प्रमुख कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिएका छन् र उनको राजीनामा स्वीकृत समेत भइसकेको छ।