नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिकाले घरको नक्सा पास अनलाइनबाटै गर्ने भएको छ।
कावासेती नगरपालिले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको हो। नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको जानकारी दिएको छ।
अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमार पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको बताए। यस नगरपालिकामा बर्सेनि तीन सय भन्दा बढीको सङ्ख्यामा भवन निर्माण हुने गरेको छ। यस अवस्थामा भवन निर्माण अनुमति प्रक्रिया तथा भवन निर्माण सुपरिवेक्षण जाँच गर्ने कार्यलाई अझ व्यवस्थित, वैज्ञानिक र चुस्त बनाउन घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रियाले प्रभावकारी भूमिका खेल्ने नगरप्रमुख पुनले बताए।
यसअघि पुस ५ गते नगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) बीच भएको सहमति अनुरुप एनसेटले घर नक्सा निर्माण, सञ्चालन र मर्मतमा परामर्श सेवा उपलब्ध गराएको थियो । सो कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका इन्जिनियर कपिल भट्टराईले घरनक्सा कार्यान्वयनको आवश्यकता र औचित्यबारे प्रष्ट्याएका थिए।
घर नक्सा पास अनलाइनबाटै हुने भएपछि घर नक्सा पास गर्न आउने सेवाग्राहीले फाइल बोक्दै हिड्नु पर्ने झन्झटको अन्त्य भएको भन्दै इन्जिनियर भट्टराईले अब सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएको समेत थाहा पाउने जानकारी दिए।