काठमाडौं। दक्षिणको छिमेकी भारतले सन् २०२३ मा मात्रै नवीकरणीय ऊर्जाको स्रोतबाट उत्पादन हुने १६ हजार मेगावाट विद्युत आफ्नो प्रसारण प्रणालीमा थप्ने भएको छ। अहिलेसम्मकै बढी नवीकरणीय ऊर्जा थप्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरिएको हो।
अहिले नवीकरणीय ऊर्जाका ५५ हजार मेगावाट जडित क्षमता भएका विद्युत आयोजना पाइप लाइनमा रहेको तथा यी आयोजनाको विद्युतको प्रतिस्पर्धात्मक दर प्रस्ताव गरिएकाले महत्त्वकांक्षी लक्ष्य पूरा हुने सम्भावना बढेको जनाइएको छ। सन् २०२२ भित्र १२ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ।
कोइलामा आधारित विद्युत माथिको निर्भरता कम गर्दै लैजान भारतले स्वच्छ ऊर्जा उत्पादन बढाउन नवीकरणीय ऊर्जामा लगानी बढाउँदै लगिरहेको हो।
नवीकरणीय ऊर्जाको स्रोतबाट विद्युत उत्पादन गर्ने गरी निर्माणको पाइप लाइनमा सौर्य र वायु ऊर्जा तथा हाइब्रिड सोलार आयोजना रहेको बताइएको छ। भारतीय सौर्य ऊर्जा निगम (एसइसिआई) ले पछिल्लो ६ महिनामा सौर्य विद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने प्रक्रियालाई तीव्र पारेको छ।