काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले सञ्चालन गर्दै आएको गौशालास्थित नेपाल भारत पशुपति मैत्री धर्मशाला निर्माणमा दोषी देखिएकालाई कारबाहीको दायरामा ल्याइने बताएका छन्। हिजो उक्त धर्मशाला निरीक्षण गर्दै उनले नियम विपरीत धर्मशाला निर्माणलगायत अन्य काम गर्नेलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका हुन्।
मन्त्री आलेले भने,“धर्मशालाको निरीक्षण गरेको छु, भोलि समितिको प्रतिबेदन पनि पेश हुँदै छ, गलत देखिएका विषयमा कानुन बमोजिम कारबाही गरिन्छ।”
उनकै निर्देशनमा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजगत्वमा गत पुस २३ गते एक छानबिन समिति गठन गरिएको थियो। उक्त समितिले आज आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरिरहेको छ।
निरीक्षणकै क्रममा मन्त्री आलेले धर्मशाला सेभेन स्टार होटलजस्तो भएको देखेर आफू स्तब्ध भएको प्रतिक्रिया दिएका थिए। त्यहाँ बाथटपदेखि जिम हलसम्म सञ्चालनका लागि आवश्यकपर्ने सामग्री राखिएका थिए।