काठमाडौं । चीनले कुनै पनि शहरको सञ्चार र विद्युत् आपूर्ति ठप्प पार्न सक्ने नयाँ हाइपरसोनिक हतियार निर्माण गरेको छ ।
चीनले उच्च फ्रिक्वेन्सीको इलेक्ट्रोम्याग्नेटिक पल्स उत्पन्न गर्ने नयाँ हाइपरसोनिक हतियार बनाएको हो । यो एक मिसाइल हो जसको रेन्ज ३२ सय किलोमिटरभन्दा बढी छ ।
यो क्षेप्यास्त्र आवाजभन्दा ६ गुणा बढीको गतिमा उड्न सक्छ । कुनै पनि शहरमाथि रासायनिक विस्फोट गराएर सञ्चार तथा विद्युत् आपूर्ति ठप्प बनाउने क्षमता यससँग छ । बेइजिङको चाइना एकेडमी अफ लोन्च भेहिकल टेक्नोलोजीका अनुसन्धाताहरूका अनुसार, यसले अन्तरिक्षमा तैनाथ अर्ली वार्निङ सिस्टमलाई झुक्याउन सक्छ ।
टार्गेट एरियामा पुगेपछि क्षेप्यास्त्रमा रासायनिक विस्फोट हुन्छ । यसले फ्लक्स कम्प्रेसर जेनरेटर भनिने विद्युतीय ऊर्जाप्राप्त चुम्बकलाई कम्प्रेस गरिदिन्छ । यसबाट शक एनर्जी बन्छ र त्यो शक एनर्जी शक्तिशाली इलेक्ट्रोम्याग्नेटिक पल्समा परिणत हुन्छ ।
यसले दुई किलोमिटरको दायरामा कुनै पनि कम्युनिकेसन नेटवर्कमा प्रमुख विद्युतीय उपकरणलाई बिगारिदिन सक्छ । यस हतियारबाट युद्धको दिशा नै परिवर्तन हुन सक्छ । शत्रुलाई आफूमाथि प्रहार भएको छ भन्ने नै थाहा हुन्न । एजेन्सी