रसुवा। टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम अगाडि बढ्न सुरु गरेको छ। नेपाल–चीनबीचको आयात निर्यात सामग्री परीक्षणमा सहज बनाई दुई देशबीचको व्यापार व्यवसाय अभिवृद्वि गराउने उद्देश्यले सुक्खा बन्दरगाह निर्माण गर्न सुरु गरिएको हो।
टिमुरे गाउँमुनि भोटेकोसी नदिको बगरलाई बाँध बाध्ने काम धमाधम अगाडि बढिरहेको छ। निर्माणस्थलमा ४० नेपाली एवं १३ चिनियासहित ५३ कामदार कार्यरत छन्। २० प्रतिशत काम पूरा भएको जनाइएको छ।
उक्त बन्दरगाह ३० महिनाभित्र सम्पन्न गर्ने शर्तका साथ सन् २०१९ को नोभेम्वरबाट निर्माण सुरु भएको थियो। कोभिडको असरप्रति सावधानी अपनाउँदै काम अगाडि बढी रहेकाले सम्पन्न गर्न अझै दुई वर्ष लाग्ने प्राबिधिक अनुमान गरिएको छ।
चीन सरकारको आर्थिक सहयोगअन्तर्गत निर्माण भइरहेको उक्त बन्दरगाहाको निर्माणको जिम्मा चिनियाँ तिब्बत फुल्ली कन्ट्रक्सनले पाएको छ। निर्माण सम्पन्न भएपछि मालवाहक ठूला दुई सय पचास कन्टेनर र साना तथा मझ्यौला एक सय सवारी साधनलाई पार्किङमा सहज हुने भएको छ।