काठमाण्डौं। एघार वर्षअघि सुरु गरिएको काभ्रेपलाञ्चोक उपत्यका एकीकृत खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। आयोजनाको काम लगभग ९८ प्रतिशत पुरा भएको हो।
केही महिनामै खानेपानीको समस्याबाट गुज्रिएका जिल्लाको तीन नगर धुलिखेल, बनेपा र पनौतीका बासिन्दाले अब केही महिनामै २४ सै घण्टा स्वच्छ खानेपानी पाउने भएका छन्।
तीन नगरका करिब ९३ हजार बासिन्दालाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले ११ वर्षअघि नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच ऋण सम्झौता गरी आयोजनाको प्रक्रिया सुरु गरिएको थियो। सन् २०१० अक्टोवर २६ मा सम्झौता गरिएको खानेपानी आयोजना करिब एक अर्बमा सम्पन्न हुने जनाइएको छ।
आयोजनाअन्तर्गत अन्तिम चरणमा तीनै नगरमा हाल सञ्चालित खानेपानी आयोजना तथा उपभोक्ता समितिमार्फत वितरण भएको पानीको पाइपमा नयाँ खानेपानीको पाइप जडान गर्ने (इन्टर कनेक्सन)को काम भइरहेको छ। तीन नगरका एक हजार ११४ इन्टर कनेक्शन गर्नुपर्नेमा हाल सात सयको हाराहारिमा इन्टर कनेक्शन भैसेकेको आयोजनाले जनाएको छ।
चिनियाँ ठेकेदार कम्पनी निम्वो निङसिङ इन्टरनेशनल इङ्कले केही महिनाभित्र काम सकाउने जनाएको छ। आयोजना सम्पन्न भएपछि सन् २०२४ सालसम्मको लागि तीन नपाका करिव ९३ हजारको लागि ‘नेपाल स्टायण्डर्ड’ को पर्याप्त मात्रामा गुणस्तरीय स्वच्छ खानेपानी उपभोग गर्न पाउनेछन्।
आयोजनाको कूल लागत भ्याट बाहेक ९९ करोड आठ लाख सात हजार ८२१ रहेको छ। आयोजनाको कूल लागतको ५० प्रतिशत रकम नेपाल सरकार र एशियाली विकास बैंकवाट अनुदान, ३५ प्रतिशत रकम नगर विकास कोषवाट ऋण विसं २०६९ असारमा लिइएको छ। बाँकी १५ प्रतिशत रकम भने तीनवटै नगर र स्थानीय उपभोक्ताबाट ब्यहोरिने जनाइएको छ।