काठमाडौं । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
सोमबार बिहान करिब ७ः२० बजे झिवाखोलाबाट बोहोरागाउँ जाने भित्री सडक स्तरोन्नतिका क्रममा घटना भएको हो। लु १ क ३४४६ नम्बरको जेसीबीले सडक खन्ने क्रममा माथिबाट अचानक माटोको ढिस्को खसेर मजदुरहरू पुरिएका थिए।
मृत्यु हुनेमा सल्यानका ३२ वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका ३२ वर्षीय राजु थापामगर रहेका छन्। घटनामा रोल्पाको त्रिवेणी गाउँपालिका–५ का २५ वर्षीय कृष्णबहादुर घर्ती गम्भीर घाइते भएका छन्। उनलाई उद्धार गरी बुर्तिबाङ अस्पताल पठाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।