काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु भएको छ। दु्रत प्रक्रियाबाट पुरानै चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोबाट मेलम्ची मर्मतको काम सुरु भएको हो।
सरकारले आगामी चैत मसान्तभित्र नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने प्रतिबद्धता जनाएको छ। मेलम्ची खानेपानी आयोजना मर्मतको काम फास्ट ट्रयाकबाट अगाडि बढाउनका लागि मन्त्रीपरिषद्मा प्रस्ताव स्वीकृत गरेपछि काम अगाडि बढाउन बाटो खुलेको हो।
छिटो भन्दा छिटो मेलम्ची खानेपानी आयोजना मर्मतको काम सम्पन्न गर्दै उपत्यकाबासीलाई खानेपानी उपलब्ध गराउन फास्ट ट्रयाकको माध्यमबाट आयोजना मर्मतको काम अगाडि बढाइएको खानेपानी मन्त्रालयले जनाएको छ।
करिब २ दशकको पर्खाइपछि उपत्यकामा आएको मेलम्ची खानेपानी आयोजनामा मनसुन सुरुवात भएको साता दिन पनि नपुग्दै गत असार १ गते मेलम्ची खोलामा आएको बाढीले क्षति पुगेको थियो। आयोजनामा क्षति भएसँगै मेलम्चीको पानी कहिले आउँछ भन्ने कुरा अझै पनि अनिश्चित बनेको छ। मन्त्रालयले तोकिएको समयमा नै पानी वितरण हुने गरी छिटो आयोजना मर्मतको काम सम्पन्न गर्न फास्ट ट्रयाकको माध्यमबाट अगाडि बढाएको भन्दै चैतभित्र नै उपभोक्ताको धारामा पानी आउने दाबी गरेको छ।
मेलम्ची खानेपानी आयोजनामा करिब २ अर्बको क्षति पुगेको पूर्वानुमान गरिएको छ। मेलम्ची खानेपानी आयोजनाको स्थायी बाँधमा क्षति पुग्नुका साथै आयोजनासम्म पुग्ने ८ किलोमिटर सडक भत्किएको छ। यसैगरी ३ वटा हेडवक्र्स नजिकका पुल र २ प्रवेशमार्गका पुल भत्किनुका साथै ढुंगा गिट्टी माटो तथा बालुवाले हेडवक्र्स नै पुरिएको छ।
बाढी कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ।