बागलुङ। धौलागिरि अस्पतालमा गत असोजमा जोड्ने भनिएको अक्सिजन प्लान्ट अझै जोडिएको छैन। बजेट अभावका कारण अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेको हो।
प्लान्ट जडान हुन नसक्दा तत्काल जटिल प्रकारका बिरामी बढेमा उपचारमा समस्या हुने भएको छ ।
कोरोना भाइरसको तेस्रो भेरिएन्टमा अधिकांश संक्रमित होम आइसोलेसनमा बसेकाले अस्पतालमा चाप भने छैन । तर‚ जुनसुकै समयमा बिरामी बढ्न सक्ने गरी संक्रमितको संख्या बढिरहेको छ ।
अस्पतालमा यसअघि जडान भएको अक्सिजन २५ बेडमा मात्रै सीमित छ । अक्सिजन भर्नु परेमा उक्त प्लान्टबाट मिल्दैन । अस्पतालको बी–ब्लक बनेर संचालनमा आए पनि सिलिन्डरबाट मात्रै अक्सिजन दिनुपर्ने बाध्यता छ । हाल सी ब्लक पनि निर्माणाधीन अवस्थामै छ।
उक्त ब्लकमा पनि बेड बनाउने तयारी छ। धौलागिरि अस्पतालमा २ सय बेड बनाउने लक्ष्य अझै पूरा भएको छैन । ती सबै बेडमा अक्सिजन जडान गर्ने तथा सिलिन्डर भर्ने प्रविधिसमेत जडान गर्न ढिलाइ भएको हो । गत असोजमा सबै सामान आएर पनि अस्पतालमा थन्किएर बसेको छ ।
अस्पतालमा २ करोड ३४ लाखमात्रै प्राप्त भएको र जडानका लागि कम्तीमा ३ करोड चाहिने भएपछि काम अगाडि बढ्न नसकेको बताइएको छ।