काठमाडौं। भारतमा आर्थिक वर्ष २०२२/२३ को बजेटमा नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याइएको छ। भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि ३ सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकोमा नेपालका लागि ७ अर्ब ५० करोड विनियोजन गरेको हो।
अघिल्लो वर्ष सन् २०२१/२२ मा नेपालका लागि ९ अर्ब ९२ करोड छुट्याएको भारतले यस वित्तीय वर्षका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ छुट्याएको हो । यस वर्ष भारतले सबैभन्दा धेरै भुटानलाई २२ अर्ब ६६ करोड भारतीय रुपैयाँ दिने भएको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले मंगलवार लोकसभामा बजेट भाषण प्रस्तुत गर्दै भारतका विभिन्न योजना तथा कार्यक्रमहरू सार्वजनिक गरेकी थिइन्।
सार्वजनिक बजेटमा भौतिक संरचना निर्माणमा जोड दिइएको छ । गति शक्ति कार्यक्रम अन्तर्गत सडक‚ रेलमार्ग‚ विमानस्थल‚ बन्दरगाह‚ ढुवानी मार्ग‚ जलमार्गलगायतको विकास र स्तरोन्नति गर्ने योजनाहरू समावेश गरिएको छ ।