बझाङ। नेपाल टेलिकमको टावरमा तोडफोड हुँदा बझाङका तीनवटा स्थानीय तहमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएका छन्।
बझाङको मष्टा गाउँपालिका–६ दौलेमेला भकुण्डे सामुदायिक वनमा रहेको नेपाल टेलिकमको टावरमा चार्जिङमा राखिएका ५७ वटा सोलार प्यानल, २४ ब्याट्री, तार ५ किलोवाट र अन्य उपकरणमा तोडफोड भएको प्रहरीले जनाएको छ।
सोमबार दिउँसो मष्टा गाउँपालिका–५ का स्थानीय भरत ओखेडाले टेलिकमको टावरमा तोडफोड गर्दा मष्टा गाउँपालिका, तल्कोट र साइपाल गाउँपालिकाका अधिकांश ठाउँमा फोन र इन्टरनेट सेवा पूर्णरूपमा प्रभावित भएको हो।
तोडफोड गर्ने ओखेडालाई हिजो दिनभर प्रहरीले खोजे पनि फेला पार्न नसकेको र उनको मानसिक सन्तुलन सही नभएको स्थानीयबाट बुझिन आएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
तोडफोड भएको टावर कहिले सञ्चालनमा आउने भन्ने यकिन भन्न नसकिने नेपाल टेलिकमको शाखा कार्यालय बझाङले जनाएको छ।