काठमाडौं। बाजुराको खप्तड छेडेदह गाउँपालिकाको ५ को पारतोला बस्ती सुक्खा पहिरो खसेपछि उच्च जोखिममा रहेको छ। माघको पहिलो सातादेखि लगातार बस्ती माथिबाट सुक्खा पहिरो खसेपछि बस्ती जोखिममा परेको हो।
गत साउनको २५ गते बाजुरामा परेको अविरल वर्षाकाकारण गाउँको बस्तीमाथिबाट पहिरो खसेपछि त्यहाँका स्थानीयहरुले घर छाडेर लेकमा उक्लेको स्थानीयले बताए। सधै वर्खामा त्रसित रहने सो बस्तीका स्थानीयहरु अहिले पनि सुक्खा पहिरोले फेरि त्रसित भएका छन्।
कोरोना कहरले गाउँमा आएकालाई फेरि यतिबेला बस्तीमा गएको सुक्खा पहिरोले त्रिपालको बास बस्न बाध्य बनाएको छ। खप्तड छेडेदहको ५ को पारतोला, डोगडी लगायतका दर्जनौ बस्ती वर्खामा बाढीपहिरोले जोखिममा पर्ने गर्छन्।
गत साउनदेखि भदौसम्म लगातार पर्ने झरिका कारण सुरु भएको पहिरो माघको महिना पनि नरोकिएपछि अहिले बस्तीका झण्डै पचास भन्दाबढी घरपरिवार जोखिममा रहेको बतााइएको छ।
तट्बन्धन गरेर पनि पहिरो नरोकिएपछि अहिले त्यो बस्तीलाई अन्य ठाउँमा स्थानान्तरण गर्नु बाहेक अन्य बिकल्प नरहेको स्थानीयको बुझाई छ। बस्तीसँगै डोगडी स्वास्थ्य चौकी, विद्यालय पनि सुक्खा पहिरोको उच्च जोखिममा रहेको छ।