काठमाडौं। दाङ जिल्लामा अविरल वर्षाका कारण करोडौं मूल्यको काँचो इँटामा क्षति पुगेको छ। क्षति पुगेको काँचो इँटाको बारेमा सम्बन्धित उद्योगमा पुगेर शनिबार अनुगमन गरिएको हो।
दाङ देउखुरी इँटा व्यवसायी समितिका अध्यक्ष प्रेमनाथ योगीको नेतृत्वमा अनुगमन भएको बताइएको छ। अनुगमनका क्रममा आठदेखि १३ लाख इँटामा क्षति पुगेको जनाइएको छ। जिल्लामा सञ्चालित उद्योगका १४ लाख इँटामा पूर्ण क्षति पुगेको प्रारम्भिक विवरणले देखाएको छ।
इँटाका लागि कम्पनीसँग पटक–पटक बिमाका लागि अनुरोध गर्दासमेत बिमा नहुँदा व्यवसायी हिउँदे वर्षाका कारण मर्कामा पर्दै आएका बताइएको छ। जिल्लाको दाङ देउखुरी इँटा व्यवसायी समितिमा ३५ वटा इँटा उद्योग आबद्व छन्। जिल्लामा उत्पादन गरिएका इँटा सल्यान, रुकुम, प्यूठान, सुर्खेतलगायतका जिल्लामा पुग्ने बताइएको छ।