काठमाडौं। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको चार स्थानीय तहमा तीन दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। कालाजग्रास्थित टेलिफोन टावरमा विद्युत् आपूर्ति नहुँदा टेलिफोन सेवा अवरुद्ध भएको हो।
हिमपातका कारण सोलारले काम गर्न छाडेपछि कोल्टी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम बाजुराले जनाएको छ।
उक्त क्षेत्रमा पटक–पटक टेलिफोन सेवामा समस्यामा आउने गरेको बताइएको छ। सामान्य बादल लाग्नेबित्तिकै टावर गइहाल्छ, यसपटक तीन दिनसम्म लगातार हिमपात भएकाले टावर आउने कुरै रहेन, कोल्टीका एक स्थानीयले बताए। समस्या समाधानका लागि यहाँका स्थानीय तह र टेलिकमले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन्।
कोल्टी क्षेत्र सम्पर्कविहीन बनेपछि स्थानीयवासीको दैनिकीसमेत प्रभावित भएको छ। बडिमालिका नगरपालिका स्थित कालाजग्रमा रहेको टेलिकमको रिपिटर टावरले पनि हिमपातका कारण काम गर्न छाडेको छ।
टेलिकमका सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारमाध्यम तथा बैंकको सेवा अवरुद्ध हुन पुगेको बताइएको छ। हिमपातका कारण बाजुरालगायत समग्र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक–पटक फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयवासीलाई निकै सास्ती भएको छ।