काठमाडौं। वर्षाका कारण मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ। बिहीबारदेखि लगातार परेको वर्षाका कारण एक दर्जन बढी उद्योगका करोडौँ मूल्य बराबरको इँटा नष्ट भएको हो।
तयारी अवस्थामा रहेका करोडौं रुपैयाँ मूल्य बराबरको काँचो इँटा नष्ट हुँदा अर्बौँको क्षति भएको उद्योग सञ्चालकहरुको दाबी छ। उद्योग सञ्चालकहरूका अनुसार एउटा इँटा उद्योगमा कम्तीमा २५ देखि ३० लाख मूल्य बराबरका काँचो इँटा वर्षाका कारण नष्ट भएका छन् ।
इँटा उद्योग व्यवसायी सङ्घ मधेस प्रदेशका अध्यक्ष विनय यादवले वर्षाका कारण इँटा उद्योगहरुमा अहिले भएको क्षतिको कारण तत्काल उद्योग नै सञ्चालन गर्न नसक्ने अवस्था सृजना भएको बताए।
मधेस प्रदेशका सबै जिल्ला गरी ६०० इँटा उद्योग सञ्चालनमा छन् । एउटा उद्योगले कम्तीमा ३० देखि ५० लाख काँचो इँटा तयार पारेका थिए । तयारी भएको इँटाभट्टामा पोल्ने तयारी गरिरहेको बेला एक्कासि भएको लगातारको वर्षाले कामै नलाग्ने सबै काँचो इँटा नष्ट भइसकेको छ । महोत्तरीमा मात्रै २० करोड मूल्य बराबरको इँटा उद्योगमा क्षति पुगेको बताइएको छ।