काठमाडौं। सिमरामा उद्योग व्यवसाय सञ्चालन गर्न ६८ वटा प्लट तयार भएका छन्। बारामा आर्थिक क्षेत्र (सेज) सञ्चालनका लागि विशेष आर्थिक क्षेत्र प्राधिकरणले उद्योगीलाई प्रस्ताव पेश गर्न आह्वान गर्ने तयारी गरेको छ।
सिमरा सेजमा उद्योग स्थापनाका लागि प्रस्ताव गर्ने उद्योगी तथा व्यवसायीहरूसँग प्राधिकरणले शुरूमै प्रोजेक्ट वर्क पनि माग गर्ने तयारी गरेको छ । यस आर्थिक क्षेत्र सञ्चालनका लागि ३ अर्ब लगानी भइसकेको छ।
विशेषगरी गार्मेन्ट उत्पादनलाई लक्षित गरेर बनाउने घोषणा गरिएको सिमरा सेजमा सबै खाले उद्योगहरू खोल्न पाइने गरी प्राधिकरणले अबको १ महीनाभित्रमा उद्योगीहरूलाई व्यवसाय सञ्चालन गर्न आह्वान गर्दै छ । नेपालको पहिलो सेज भइरहवा पूर्ण सञ्चालनमा आइनसकेका बेला प्राधिकरणले सिमरा सेज सञ्चालनको तयारी गरेको हो । सिमरा सेजमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
सेजसँग जोडिएका अन्य पूर्वाधारहरू ढल निकास, पानी, सडक निर्माण सम्पन्न भइसकेको छ। आन्तरिक विद्युतीकरणका लागि आवश्यक काम भइरहेको छ।