चितवन। वर्षाका कारण चितवनका इँटा उद्योगमा तयार गरिएका काँचो इँटामा क्षति पुगेको छ। पकाउन तयारी अवस्थामा रहेका एक करोड मूल्य बराबरको काँचो इँटा वर्षाले नष्ट गरेको हो।
माटो प्रशोधन गरेर इँटा बनाएर पकाउनुअघि पानी परेपछि पूरै इँटा नष्ट भएको छ। चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाले जिल्लामा सात उद्योगका इँटा नष्ट भएको जानकारी दिएका छन्।
सापकोटाका अनुसार हाल सञ्चालनमा रहेका उद्योगमा सरदर एउटामा १५ लाख काँचो इँट्टा नष्ट भएको छ। सङ्ख्याको हिसाबले एक करोडभन्दा बढी इँट्टा नष्ट भएको उनले बताए।
इँट्टा उद्योग महासङ्घका उपाध्यक्षसमेत रहेका सापकोटाले बेमौसमी वर्षाका कारण देशभरका १ हजार ५ सय उद्योगमा नोक्सान पुगेको बताए। कोभिडको महामारीमा थलिएका उद्योगलाई वर्षाले फेरि मारमा पारेको उनको भनाइ छ। सरकारले समयमै सम्बोधन नगरेमा आत्मनिर्भर यो व्यवसाय विदेशमा निर्भर हुनुपर्ने अवस्था आउने उनले बताए।