दाङ। ५० लाख ठगी मुद्दामा दाङका निर्माण व्यवसायी वसन्त कुँवर पक्राउ परेका छन्। यसअघि पक्राउ परेका विकास पुनको बयानका आधारमा प्रहरीले अनुसन्धानका लागि कुँवरलाई पक्राउ गरेको हो।
विकासको पैसा साङ्ग्रिला डेपलेपमेण्ट बैंक घोराहीका म्यानेजर सुदर्शन बिष्ट र निर्माण व्यवसायी वसन्तले तीन वटा खाता प्रयोग गरेर आदानप्रदान गरेको अनुसन्धानमा देखिएपछि वसन्तलाई पक्राउ गर्नु परेको प्रहरीले जनाएको छ।
इट्टा व्यवसायी वसन्तले इट्टा पोल्नका लागि कोइला लगेका घोराही १५ सहिदगेटका रोशन दाहाललाई आफ्नो पैसा आउन लागेको भन्दै उनैको खाता प्रयोग गरेर ९ लाख बढी विकासको रकम निकाल्न लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
यसअघि पक्राउ परेका साङ्ग्रिला डेपलेपमेण्ट घोराहिका म्यानेजर सुदर्शनले आफ्नो बैंकको स्टाफको खाता प्रयोग गरेर विकासको पैसा निकाल्न सहयोग गरेको प्रहरीले बताएको छ ।
बैंकले त्यति ठूलो रकमको स्रोत नै नखोजी खाताबाट पैसा निकालेर दिएपछि बैंक म्यानेजरसहित निर्माण व्यवसायी, कारोबार गर्ने सबैजसो व्यक्तिहरु अनुसन्धानको दायरामा तानिएका हुन।
प्रहरीले ठगीको मुद्दा आइतबार नै सरकारी वकिलको कार्यालयमार्फत अदालतमा बुझाइसकेको र अधिकतम सजायको माग गरिसकेको जनाएको छ। पीडित व्यवसायी र कारोबार गर्नेले प्रहरीमा मिलापत्रको प्रयास गरे पनि सम्भव नहुँदा मुद्दा अदालतसम्म पुगेको हो ।