काठमाडौं। मैलुङ–स्याफ्रुबेसी डबल लेन सडक निर्माणको काम सन्तोषजनक नभएको भन्दै गल्छी त्रिशुली मैलुङ स्याफ्रुबेसी रसुवागढी सडक योजनाले निर्माण कम्पनीलाई स्पष्टिकरण मागेको छ।
योजनाले निर्माण कम्पनीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित भई सडक निर्माणको भौतिक प्रगति सन्तोषजनक नहुनुको कारण खुलाउन निर्देशन दिएको हो।
योजनाले सडक निर्माणको काम गरिरहेको नि.व्य.श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाइ जेभीका नाममा सूचना नै जारी गरेर ७ दिनभित्र निर्माण व्यवसायी स्वयं वा आधिकारीक प्रतिनिधिलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। सम्झौता अवधिमा निर्माण कार्य सम्पन्न हुने कुरामा कार्यालय आश्वस्त हुन नसके थप कारबाही अघि बढाउने योजनाले चेतावनी समेत दिएको छ।
२०७९ पुस ३० गते सम्पन्न गर्नेगरी २०७७ साउन १ गते नि.व्य.श्री भारत कन्स्ट्रक्सन/सिद्दिसाइ जे.भीसँग मैलुङ–स्याफ्रुबेसी सडक निर्माणका लागि सम्झौता भएको थियो। तर सम्झौताअनुसारको आधा भन्दा बढी समय बितिसक्दा पनि निर्माण कम्पनीले काममा तीव्रता नदिएको योजनाले जनाएको छ। जम्मा १९ किलोमिटरको सडक निर्माण कार्यमा निर्माण कम्पनीले हालसम्म करिब ३० प्रतिशत मात्र काम गरेको छ।
.jpg)