काठमाडौं। काठमाडौंको पाँच तारे याक एण्ड यति होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ।
राज्यलाई बुझाउनु पर्ने ४२ करोड रोयल्टी नबुझाएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा होटलको इजाजत रद्द गरिएको हो ।
बुधबार मन्त्रीस्तरीय निर्णयले याक एण्ड यति होटल लिमिटेडको क्यासिनो सञ्चालन इजाजत पत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्ध गरेको हो। मन्त्रालयले २०४८ पुस २२ मा त्यस होटलको नाममा क्यासिनो सञ्चालनको इजाजतपत्र जारी गरेको थियो। रोयल्टी, इजाजत नवीकरण दस्तुर लागयतको रकम कानुन बमोजिम होटलले दाखिला नगरेका कारण इजाजत रद्द गरेको पर्यटन मन्त्री आलेले बताए।
आर्थिक वर्ष २०७६/०७७ सम्मको बाँकी बक्यौता, आर्थिक वर्ष २०७७/०७८ को इजाजतपत्र नवीकरण दस्तुर, २०७८/०७९ को रोयल्टी दस्तुरसमेत गरी ४२ करोड २५ लाख ६८ हजार २ सय ५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुन अनुसार क्यासिनो सञ्चालन इजाजतपत्र र होटलस्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको छ।