काठमाडौं । ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ मार्फत एनसेललाई दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त भएको छ। लन्डनस्थित प्रकाशन गृह जीबीओले प्रदान गर्दै आएको उक्त अवार्डमार्फत एनसेल दुई विधामा पुरस्कृत भएको हो ।
एनसेलले सामाजिक रूपमा सबैभन्दा बढी उत्तरदायी कम्पनी र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले टेलिकम सीईओ अफ दि इयर अवार्ड पाएको एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।
यसका साथै एनसेल ‘वल्र्ड कम्युनिकेसन्स अवार्ड २०२१’का दुई छुट्टाछुट्टै विधा ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स अवार्ड’का लागि पनि सूचीकृत भएको छ । यो पुरस्कार घोषणा आगामी अक्टोबर लन्डनमा गरिनेछ ।
त्यसैगरी ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘बेस्ट सोसल मिडिया क्याम्पियन’ अवार्डमा सूचीकृत भएको छ । पुरस्कार विजेताको घोषणा अक्टोबर २० मा लन्डनमै आयोजना हुने जीसीएको कार्यक्रममा हुने बताइएको छ ।