हुम्ला। हुम्लाको उत्तरी उच्च भागमा अवस्थित नाम्खा गाउँपालिका–६ लिमीमा दुई सातादेखि सञ्चार सेवा अवरुद्ध भएको छ। वर्ल्डलिङ्क कम्युनिकेसनले काम नगरेपछि लिमी सञ्चार सम्पर्कबिहीन बनेको हो।
करिब दुई हप्तादेखि इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा परेका छन्। इन्टरनेट सेवामार्फत हुने विभिन्न काम समेत प्रभावित बनेको छ।
वर्ल्डलिङ्क कम्युनिकेसनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडा कार्यालयले जनाएको छ।
नाम्खामा गत साता भारी हिमपात भएका कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने बताइएको छ। बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइवर, फेसबुक, वाटसप र विथच्याटबाट हुने कामसमेत प्रभावित बनेको छ।