काठमाडौं। सिन्धुलीको फिक्कल गाउँपालिका–२, पोखरीमा ५०० मिटर तल रहेको सुनकोसीको पानी लिफ्टको माध्यमबाट स्थानीय उपभोक्ताको घरघरमा पुर्याइने भएको छ। खानेपानीको पोखरीमा गाउँपालिकाको लागनीमा लिफ्ट खानेपानी योजना सञ्चालन गरीने भएको हो।
चण्डीभञ्ज्याङ, डडुवा, बबला र गैरीगाउँका करिब २०० घरमा सुनकोसीको पानी पुर्याइने भएको हो। सुनकोसीको नवलपुरबाट पानी लिफ्ट गरी झन्डै ५०० मिटरमाथि फाल्ने निर्माण कार्यमा खटिएका प्राविधिक सफल भएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अनुसार ५० हजार घनमिटर क्षमताको ट्याङ्कीमा पानी जम्मा गरेर गाउँमा वितरण गर्ने योजना रहेको छ। प्रतिसेकेन्ट चार लिटर पानी फाल्ने क्षमताको मोटर जडान गरिएको छ।
आर्थिक वर्ष २०७५/७६ देखि निर्माण सुरु भएको योजना निर्माणका लागि अहिलेसम्म गाउँपालिकाले ६६ लाख रुपियाँ लगानी गरेको छ। तीन वर्षअघि सुरु गरेको खानेपानी योजनाबाट सुनकोसीको पानी फागुन महिनाभित्र उपभोक्तालाई वितरण गर्ने लक्ष्यसहित काम भइरहेको बताइएको छ।