वीरगञ्ज। बाराको प्रसौनी गापा–२ मा अत्याधुनिक चालम उद्योग सञ्चालनमा ल्याइएको छ। साढे ३ बिघा क्षेत्रमा ८० करोड रुपैयाँको लगानीमा उद्योग सञ्चालन गरिएको हो।
मनोजकुमार गुप्ताले नेपालमा गुणस्तरीय चामलको माग दिनप्रतिदिन बढ्दै गएपछि आधुनिक प्राविधिमा आधारित उद्योग स्थापना गरिएको बताए।
दैनिक २० घण्टा उद्योग सञ्चालन गर्ने र घण्टामा १२ टन धान कुट्ने र ६ टन चामल निकाल्ने उनले जानकारी दिए।
उद्योगले लङ ग्रेन बासमती, कर्तनी, गोरखनाथ, सोना मन्सुली सोनम, ब्राउन राइस लगायत बिभिन्न प्रकारका चामल बजारमा पठाउने भएको छ। उद्योगबाट प्रशोधन र प्याकेजिङ हुने लङ ग्रेन बासमतीको मूल्य किलोको ११५ देखि रु १२० सम्म राखिने उनले बताए। सोही गुणस्तरको भारतीय चामल नेपालमा १४० रुपैयाँ किलोमा बिक्री वितरण भइरहेको छ।
उद्योगले कमल, रोशनी, गंगोत्री, किसमिस ब्रान्डमा चामल उत्पादन गर्नेछ। उद्योगले भारतको मैंगलोरबाट अत्याधुनिक प्राविधि भित्र्याएको बताएको छ। उक्त क्षमताको चामल उद्योग नेपालमा सञ्चालनमै नरहेको संचालक गुप्ताको दाबी गरेको छ।