काठमाडौं। विगत २८ वर्षदेखि घरजग्गा तथा सम्पत्ति कर नतिरेका ठुला करदाताहरुबाट काठमाडौं नगरपालिकाले ६ करोड बक्यौता असुल गरेको छ। लामो समयदेखि कर नतिर्ने ठुला ७२ करदाताको नाम नगरपालिकाले गत असार १६ मा र साउनको अन्तिमा सार्वजनिक गरी ३० दिन भित्र सम्पर्क गर्न आग्रह गरेको थियो। उक्त सार्वजनिक सुचना प्रकाशित भएपश्चात करदाताहरु सम्पर्कमा आएरकर तिर्न थालेका हुन्। पछिल्लो समयमा कर तिर्नेको सङ्ख्या बढ्न गई हालसम्म ६ करोड कर असुल भैसकेको छ भने चाँडै ३० करोड उठ्ने तयारीमा रहेको राजस्व महाशाखाका प्रमुखले जनाएका छन्।
२ पटक सुचना प्रकाशित गरे पनि अटेर गरेर बस्नेहरुको लागि महानगरले थप कडाई गर्ने भएको छ। समयमा आफ्नो सम्पर्क विवरण लिएर आउनेलाई नियमअनुसार महानगरले कर छुट दिने र अझै अटेर गर्नेलाई समस्या हुने भएको कारणले गर्दा इमान्दारीताको साथ कर तिर्न निजि तथा अर्धसरकारी सस्थाहरुलाई महानगरले अनुरोध गरेको छ।
ठुला निजि तथा सरकारी संघसस्थाहरुले लामो समयसम्म कर नतिरेका हुन्। सुचना प्रकाशन पश्चात धेरैले सम्पर्कमा आएर कर तिरेका छन्। गत वर्ष ३२ करोडमात्र कर असुल गरेको थियो भने चालु आर्थिक वर्षमा ९० करोड कर असुल गरीसकेको कुरा महानगरले जनाएको छ।