काठमाडौं। रुकुम पूर्वमा टुजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकमले फोरजी सेवा विस्तारको तयारी सुरु गरेको छ। रुकुम पूर्वमा अहिले टुजी सेवा सञ्चालनमा रहेका ४ वटा टावरमै फोरजी सेवा सञ्चालनको तयारीमा रहेको हो।
पुथाउत्तरगंगा गाउँपालिका–१३ विर्गुम, सिस्ने गाउँपालिका–२ सुद्री, भूमे गाउँपालिका–५ सेपे र भूमे–९ चुनबाङमा टुजीको सेवा सञ्चालनमा रहेका छन्। अब उक्त ४ वटा टावरमा फोरजी सेवा सञ्चालनको लागि उपकरण जडान र कुनै ठाउँमा फोरजी सेवाका लागि परीक्षण पनि गरिसकिएको नेपाल दूरसञ्चार कार्यालय रुकुम पूर्वले जनाएको छ।
सिस्ने–२ सुद्रीस्थित नेपाल टेलिकम टावरमा फोरजी सेवाको सफल परीक्षण भइसकेको बताइएको छ। यसैगरी विर्गुम, चुनबाङ र सेपेमा पनि फोरजी सेवा सञ्चालनका लागि उपकरण जडानको काम भइरहेको छ।
फोरजी सेवा सञ्चालनका लागि सफल परीक्षण सम्पन्न भएका ठाउँमा ठेकेदारले दूरसञ्चार कार्यालयलाई हस्तान्तरण गर्नेबित्तिकै नियमित फोरजीको सेवा सुचारु गरिने भएको छ। यी ४ ठाउँमा ठेकेदारले फोरजी सेवाका लागि उपकरण जडानको जिम्मा लिएको छ। ठेकेदारले उपकरण जडान गरेर सफल परीक्षणपछि दूरसञ्चारलाई हस्तान्तरण गर्नेबित्तिकै फोरजी सेवा सुचारु गरिने बताइएको छ।