सल्यान। बन्गाड कुपिण्डे नगरपालिकामा अस्पताल निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन्। नगरपालिकामा सुविधायुक्त १५ शय्याको अस्पताल निर्माण हुने भएपछि स्थानीयले ६० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन्।
कुपिण्डे नगरपालिका–१ अम्राका २८ स्थानीयले १८ रोपनी १४ आना जग्गा निःशुल्क दान गरेका छन् । गाउँमै अस्पताल बनेपछि स्थानीयलाई उपचारमा सहज हुने र सामान्य उपचारका लागि पनि धेरै रकम खर्च गरेर बाहिर जानु पर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पताल निर्माणका लागि जग्गा दान गरेको जग्गा दान गरेको स्थानीयको भनाइ छ।
अस्पताल बन्ने भएपछि खुसी भएर आफ्नो अन्न बाली उत्पादन गर्ने जग्गा आँखा चिम्लेर दान गरेको उनीहरु बताउँछन्। स्थानीयले अस्पताल निर्माणका लागि उपलब्ध गराएको जग्गाको सदुपयोग गरेर छिटो अस्पताल निर्माण गर्नसमेत उनीहरुले आग्रह गरेका छन्।
स्थानीयले जग्गा उपलब्ध गराएपछि अब बन्गाड कुपिण्डे नगरपालिकामा छिट्टै १५ शय्याको अस्पतालको काम सुरु हुने बन्गाड कुपिण्डे नगरपालिका सल्यानका स्वास्थ्य प्रमुख वासुदेव पोखरेलले बताए । अस्पताल बने पालिकाका स्थानीय तथा छिमेकी जिल्लाका स्थानीयलाई धेरै राहत हुने उनले जानकारी उल्लेख गरे ।