बाँके। बाँकेस्थित नौबास्ता औद्योगिक क्षेत्र निर्माणको तयारी भइरहेको छ। औद्योगिक क्षेत्र परियोजनाको जग्गा अतिक्रमण गरी बसोबास गरिरहेकालाई स्थानीय प्रशासनले हटाउन नसकेपछि उक्त क्षेत्र छाडेर काम अगाडि बढाउन लागिएको हो।
परियोजनाको जग्गामा करिब तीन सय घरधुरी छन् । सरकारले काम अगाडि बढाउन परियोजनाका लागि आवश्यक पर्ने जग्गा विकास कार्यक्रमका लागि ७५ करोड र भौतिक निर्माणका लागि ३ करोड रुपैयाँ बजेट यस वर्ष छुट्याएको छ । त्यस अन्तर्गत सडक निर्माणका लागि ट्र्याक खोल्ने र भवन निर्माणको काम सुरु गरिनेछ ।
परियोजनाका लागि सरकारले ३ सय ३८ बिघा क्षेत्रफल छुट्याएको थियो । त्यसमध्ये करिब ३५ बिघा जग्गा अतिक्रमणमा परी घर निर्माण भइसकेका छन् । परियोजना निर्माणका काममा ढिलाइ हुँदा जग्गा अतिक्रमणमा परेको हो । स्थानीय प्रशासन र परियोजनास्थल बैजनाथ गाउँपालिकाले बस्ती व्यवस्थापनका लागि पटक–पटक प्रयास गरे पनि सम्भव हुन सकेको छैन।
सरकारले २०७२ चैत १ गते बाँकेमा उक्त परियोजना लागू गरेको हो। परियोजनाको डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर०) र वातावरणीय प्रभाव मूल्यांकन (ईआई) समेत गत वर्ष नै भइसकेको छ। गत वर्ष परियोजनाको काम अगाडि बढाउन सरकारले ६१ करोड बजेट छुट्याएको थियो । तर परियोजनाको क्षेत्रभित्रबाट बस्ती उठाउन नसक्दा काम अगाडि बढ्न सकेको थिएन ।