मकवानपुर। हेटौँडा उपमहानगरपालिका–१० न्युरेनीमा दूधको पाउडर निर्माणका लागि प्लान्ट निर्माण भइरहेको छ। बागमती प्रदेश सरकारले किसानको हितका लागि दूध पाउडर प्लान्ट निर्माण गरिरहेको हो।
अहिले पाउडर बनाउने मुख्य आगो बाल्ने भवनको वाल निर्माण गर्ने काम भइरहेको छ। माथि जस्ताले छाइसकिएको छ । दूधको पाउडले बनाउने मेसिन भारतबाट एक हप्ता अगाडि ल्याइ सकिएको छ। मेसिन कम्पाउन्डभित्र प्याकिङ गरिएको अवस्थामा छ।
ठाउँ–ठाउँमा पाउडर प्लान्टका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारहरु निर्माण गरिँदै छ। चालु आर्थिक वर्षको असार महिनासम्ममा न्युरेनीमा पाउडर प्लान्ट निर्माणको काम सक्नेगरी काम भइरहेको छ। डीडीसीले लिएको ८ बिघामध्ये २ बिघामा दुग्ध पाउडर प्लान्ट स्थापना गर्न काम भइरहेको हो ।
दूधको पाउडर प्लान्ट निर्माण भएपछि किसानले उत्पादन गरेको दूध सडकमा फाल्नुपर्ने अवस्थाको सधैँंका लागि अन्त्य हुने केन्द्रीय दुग्ध सहकारी सङ्घले जनाएको छ।
सङ्घीय कृषि मन्त्रालयमातहत रहेको जग्गा डीडीसीले २५ वर्षका लागि लिजमा लिएको थियो । त्यसमध्ये २ बिघा बोर्डले लिएको हो। यो भवन करिब डेढ वर्षभित्र निर्माणसम्पन्न गरी पाउडर दूध प्लान्ट सञ्चालन गर्ने लक्ष्य रहेको थियो । तर, विभिन्न समस्याका कारण समयमानै काम गर्नका लागि बाधा पुगेको थियो । अहिले भने द्रुत गतिमा काम भइरहेको बताइएको छ।