ताप्लेजुङ। ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबलकार निर्माण गरिने भएको छ। सदरमुकाम फुङ्लिङमा प्रवर्धक कम्पनी पाथीभरा देवी दर्शन केबलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्रिया गर्दै केबलकार निर्माणबारे जानकारी गराएको हो।
पर्यटन विकास तथा प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो। काफ्लेपाटीदेखि पाथीभराधाम जोड्ने गरी केबलकार निर्माण गरिने भएको छ। आगामी वैशाखदेखि केबुलकार निर्माणको काम शुरु गर्ने गरी तयारीलाई अघि बढाइएको प्रालिका कार्यकारी निर्देशक ईश्वरी पौडेलले जानकारी दिइ।
केबलकार प्रालिको योजनाअनुसार निर्धारित समयभित्रै परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उनले प्रचलित व्यवस्था साथै सबै पक्षलाई सम्बोधन र समन्वय गरेरै परियोजनाको काम कार्यान्वयन गरिने बताए।
पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि धाम जोड्ने केबलकारको दूरी २.६ किलोमिटर हुने प्रालिले जनाएको छ। रु तीन अर्ब रुपियाँ खर्च हुने र २२ महिनाभित्र केबुलकार आयोजना सम्पन्न गर्नेगरी विस्तृत अध्ययन प्रतिवेन (डीपीआर) बनेको छ।
केबुलकारको निर्माण संरचना, कार्यान्वयनको प्रकृति, परियोजनाले हुने सामाजिक र आर्थिकसहित समष्टिगत उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले पर्यटन विकाससँगै ताप्लेजुङवासीलाई धेरै फाइदा पुग्ने प्रालिका परामर्शदाता बच्चुनारायण श्रेष्ठल बताए। ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तारानाथ घिमिरेले जिल्लाको पर्यटन विकासँगै आर्थिक समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने भएकाले चाँडै केबुलकारको काम थाल्नुपर्ने बताए।