काठमाण्डौं। म्याक्स मिडिया डिजिटल गुरु प्रतियोगीता म्याक्स मिडियाको आयोजनामा सुरु भएको छ। सम्भवत नेपालकै पहिलो र सबैभन्दा ठुलो डिजिटल मिडियासम्बन्धी यस प्रतियोगीताले उक्त मिडियामा विज्ञता भएका व्यक्ति हरुलाई भागलिन आह्वान गरेको छ।
उक्त प्रतियोगीता सञ्चालन गर्नुको मुख्य उद्धेश्य डिजिटल मिडियामा विज्ञता भएका व्यक्तिहरुको पहिचान गर्दै उनिहरुलाई व्यक्तिगत एवं समग्र नेपाली मिडियालाई नै टेवा पुर्याउन त्यस्ता व्यक्तिहरुको पहिचान, प्रोत्साहन र अवसर प्रदान गर्नु रहेको बताइएको छ। विभिन्न विदेशी कम्पनीसँग सहकार्य गरेर नेपालमा पनि डिजिटल मिडिया सम्बन्धी काम गर्ने अभ्यास भइरहेको छ।
अहिलेको समयमा हामीले नेपालमा डिजिटल मिडियाको उच्च सम्भावना देखेका छौं, जुन हाम्रो विचार प्रस्तुत गर्ने एउटा सशत्त माध्यम रहेको म्याक्स मिडियाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
सोही विज्ञप्तिमा भनिएको छ, नेपालको डिजिटल मिडियाको क्षेत्रमा धेरै अवसरहरु रहेकोले प्रत्यक व्यक्तिले आफु बसेको स्थानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा आफ्नो क्षमता प्रस्तुत गर्ने उचित अवसर प्राप्त गर्नेछ। यो एउटा व्यक्तिको मात्र नभएर समग्र मिडिया उद्योगकै लागी राम्रो पक्ष हो।
उक्त प्रतियोगीता एउटा चुनौतीको परिक्षण गर्ने उद्धेश्यसहित पहिलो पटक प्रस्तुत भएको डिजिटल हेडहण्ट हो, जहाँ सहभागी भएकाहरुले प्रतियोगीताको नियममा रही आफ्नो मन पर्ने विषयमा डिजिटल मिडिया सम्बन्धी सबल प्रस्तुति प्रस्तुत गर्न दिइनेछ भने यसबाट नेपालको डिजिटल मिडियाको उत्थानका लागी एउटा नयाँ अध्ययन सुरु हुने आशा गरिएको छ।