मकवानपुर। हेटौँडामा कृषि थोक बजार निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। सरकारले कृषि उपजको उपयुक्त भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ, प्रशोधन लगायतको सुविधासहित निर्माण गरिरहेको कृषि थोक बजारको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भएको हो ।
आधुनिक कृषि थोक बजार केन्द्र निर्माण भएपछि नेपाली किसानको उत्पादनको बजारीकरण र प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ । नेपाली किसानको सबैभन्दा ठूलो समस्याका रुपमा रहेको कृषिउपजको बजारीकरणको समस्या समाधान गर्न भन्दै तिनै तहको सरकारको पहलमा कृषि थोक बजार केन्द्र निर्माण प्रारम्भ भएको थियो ।
केन्द्र सरकारको समेत लगानी हुने र करिब रु ७० करोड लगानी गर्ने भनेर विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको भए पनि तत्काललाई केन्द्र सरकारले लगानी नगरेपछि लगानी घटाएर प्रदेश र स्थानीय सरकारले निर्माणलाई निरन्तरता दिएका छन् ।
झण्डै रु साढे २८ करोड लागतमा निर्माणाधीन कृषि थोक बजार आगामी २०८१ सालभित्र निर्माण सम्पन्न भई सञ्चालनमा आउने मन्त्रालयले विश्वास लिएको छ । प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडा र उपमहानगरपालिकाको संयुक्त लगानीमा कृषि थोक बजार निर्माण भइरहेको हो । विसं २०८१ सम्ममा भवनलगायतका संरचना निर्माण सम्पन्न गरेर उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको रहेको छ ।
आधुनिक संरचनासहितको कृषि बजार निर्माण सुरु भएपछि मकवानपुर तथा आसपासका किसान लाभान्वित हुने अपेक्षासहित खुसी भएका छन् ।