काठमाडौं। देशकै अर्को होचो ठाउँ दावी गरिएको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा भ्युटावर निर्माण हुने तयारी भएको छ। तिन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माणको तयारी भएको हो।
धनुषाको उक्त गाउँपालिका २ स्थित बेलही टोलमा भ्युटावर निर्माण हुने भएपछि स्थानीय हर्षित बनेका छन्। मधेस प्रदेश सरकारले देशको होचो स्थानलाई पर्यटकीय दृष्टिकोणले विकास गर्न भ्युटावर निर्माण गर्न लागेको बताइएको छ।
९० फिट उचाई रहने भ्युटावर निर्माण हुने स्थानमा पिकनिक स्पोट, नाउ चलाउने योजना समेत रहेको मन्त्रालयले जनाएको छ। भ्युटावर निर्माणका लागि सोमबार पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, भौतिक पूर्वाधार विकासमन्त्री यादवसहित प्राविधिक टोलीले निर्माणस्थलको निरीक्षण गरेका छन्।
करिब १४ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण हुने भनिएको भ्युटावर निर्माणको लागत करिब ७ करोड रुपियाँ रहने मन्त्रालयले जनाएको छ।