काठमाडौं। म्याग्दी जिल्लामा दुई वटा खानेपानी आयोजना सञ्चालनको तयारीमा रहेका छन्। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुईवटा बृहत् खानेपानी आयोजना सञ्चालनको तयारीमा रहेका हुन्।
रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरपालिका– ५, ६, ९, १० नम्बर वडाका विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झिँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो।
दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रकृयामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ। दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। उक्त आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारको लगानी र १० प्रतिशत उपभोक्ताको जनश्रमदान बराबरको रकम लगानी गर्नुपर्ने बताइएको छ।
घोप्टे खोलाबाट दुई हजार ६ सय ५८ र भगवतीपिप्ले खानेपानी आयोजनाबाट दुई हजार ४ सय १६ घरधुरी लाभान्वित हुने भएका छन्। उक्त आयोजना निर्माणका लागि ३७ करोड ३७ लाख लागत अनुमान गरिएको छ।